काठमाडौँ । एमाले केन्द्रीय कमिटी बैठकका कारण ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र पछि सरेको छ । बैठक भृकुटीमण्डपमा बसेको छ ।
पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने उनले बताए ।
शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
एमाले महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी ओली र ईश्वर पोखरेलले प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएका छन् । अघिल्लो महाधिवेशनमा प्यानल बनाउन रोकेका ओलीले यसपटक स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताएका छन् ।
अहिले दुवै पक्ष पदाधिकारीको सूची बनाउन लागिपरेका छन् । खासगरी महासचिव को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा छ ।







