काठमाडौं । मुलुकमा गएको आर्थिक बर्ष २०८१÷८२ मा झण्डै ६५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
उद्योग विभागका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्म विभिन्न मुलुकका लगानीकर्ताहरुले ८ सय ४० परियोजनामार्फत ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका हुन् ।
यो अघिल्लो आर्थिक बर्ष २०८०÷८१को यहि अवधिको तुलनामा २ अर्बले बढी हो । विभागका सुुचना अधिकारी अर्जुन सेन ओलीले सरकारले मुलुकमा लगानी भित्राउनका लागि नीतिगत सुधार गरेकाले पनि लगानी प्रतिवद्धतामा बृद्धि भएको जानकारी दिनुुभयो । गएको आर्थिक बर्षमा आएको लगानी प्रतिवद्धतामध्ये ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको प्रतिवद्धता अनलाइन अर्थात अटोमेसन प्रणालीमार्फत आएको छ ।
लगानी प्रतिवद्धतामध्ये ४८ प्रतिशत अर्थात ३० अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता सेवाक्षेत्रमा मात्रै आएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा नेपालमा सेवा क्षेत्रका ८४ परियोजनाहरु नेपालमा दर्ता भएका छन् ।
यस्तै यसै अवधिमा कुल विदेशी लगानी प्रतिवद्धताको ४१ प्रतिशत अर्थात २६ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको तथ्यांकले देखाउँछ । यस अवधिमा यो क्षेत्रका ३ सय ४ परियोजना नेपालमा दर्ता भएका हुन् ।
यस्तै उत्पादनमुलक र सूचना तथा प्रविधि क्षेत्रमा क्रमशः ६ र ३ प्रतिशत अर्थात ३ अर्ब र १ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा कृषि क्षेत्रमा २ प्रतिशत अर्थात १ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
आर्थिक बर्षभर फागुनमा सबैभन्दा बढी अर्थात झण्डै १८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त महिना हालसम्मकै महिनाका आधारमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।








