काठमाडौँ । चालु आवको पहिलो महिना साउनमा  सवा ३ अर्ब लगानी विदेशी लगानीकर्ताले फिर्ता लगेका छन् ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा साउनमा जम्मा ३ अर्ब १९ करोड ८ लाख ५२ हजार ८ सय ९९ रूपैयाँ बराबरको लगानी फिर्ता लगेका हुन् ।

ADVERTISEMENT

यो रकममा रोयल्टी शुल्क, लाभांश र सेवा शुल्क समावेश छन् । विदेशी लगानीकर्ताले फिर्ता लगेको लगानीमध्ये विशेष गरी लाभांशले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ।

विभागको तथ्यांकलाई आधार मान्दा साउन महिनामा नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले आफ्ना परियोजनाबाट २ अर्ब ९० करोड ७८ लाख ५४ हजार ५ सय ५५ रूपैयाँ फिर्ता लगेका हुन् । यस्तो लाभांस गत आर्थिक बर्षको यहि अवधिमा ६४ करोड रुपैयाँ बराबर मात्रै थियो ।

ADVERTISEMENT

साउन महिनाको तथ्यांकलाई आधार मान्दा १८ करोड ७१ लाख २९ हजार २ सय ५ रूपैयाँ रोयल्टी र सेवा शुल्कतर्फ १० करोड २० लाख ८९ हजार ७ सय ८३ रुपैयाँ बढी रकम विदेशी लगानीकर्ताहरुले नेपालबाट लिएको देखिएको छ ।
यी रकम विभिन्न मुद्राहरू—नेपाली रूपैयाँ, अमेरिकी डलर, भारतीय रूपैयाँ र युरो—बाट रूपान्तरण गरी गणना गरिएको हो । उदाहरणका लागि, रोयल्टी शुल्कमा भारतीय रूपैयाँ १ करोड ९१ लाख ७१ हजार २ सय ६५ र युरो १० हजार २ सय बाट आएको रकम समावेश छ । त्यस्तै, सेवा शुल्कमा अमेरिकी डलर २० हजार ४ सय, भारतीय रूपैयाँ ४ करोड ४९ लाख १० र युरो १२ हजार बाट आएको रकम जोडिएको छ ।

यी रकमहरू २०२५ अगस्टको विनिमय दरका आधारमा नेपाली रूपैयाँमा रूपान्तरण गरिएको छ । साउन महिनामा लाभांशको रकम २ अर्ब ९० करोड ७८ लाख ५४ हजार ५ सय ५५ रूपैयाँ रहेको छ, जुन कुल रिपार्टिसन रकमको झन्डै ९१ प्रतिशत हो ।

यो रकम पूर्णरूपमा नेपाली रूपैयाँमा रहेको छ, जसले विदेशी लगानीकर्ताहरूले नेपालमा स्थापित उद्योगबाट ठूलो रकम कमाएको र त्यसलाई आफ्नो देशमा पठाएको देखाउँछ ।