काठमाडौं । सरकारले दर्ता भएका ट्रेडमार्क एक वर्षभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले एक वर्षभित्र ट्रेडमार्क प्रयोग गरिएको प्रमाण पेश गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएसँगै यस्तो व्यवस्था गरिएको हो ।
ट्रेडमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई कडाइका साथ पालना गराउन लागेको हो ।
ट्रेडमार्क दर्ता भइसकेका व्यवसायीलाई विभागले प्रयोगसम्बन्धी प्रमाण पेश गर्न आग्रह गरेको विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीले जानकारी दिए । ‘दर्ता भएको चिह्न वा ब्रान्ड व्यवसाय सञ्चालनमा ल्याएको प्रमाण एक वर्षभित्र विभागलाई बुझाउनुपर्छ ।
प्रयोग नगरेको अवस्थामा कारणसहितको विवरण पेश नगरेमा दर्ता स्वतः खारेज हुने प्रावधान रहेको छ,’ उनले भने । पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ मा पनि एक वर्षभित्र ट्रेडमार्क प्रयोगमा ल्याइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
विभागले ट्रेडमार्क दर्ता गर्न ढिलाइ गरेका व्यवसायी र सेवा प्रदायकलाई कडा चेतावनी दिएको छ । आवेदन दिएको ९० दिनभित्र सम्पर्क नगरेमा दर्ताका लागि पेस भएका दरखास्त स्वतः खारेज हुने विभागले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ बमोजिम दर्ता प्रक्रिया सुरु गरेका तर सम्पूर्ण कागजात बुझाउन बाँकी रहेका व्यवसायीलाई तत्काल विभागमा सम्पर्क गर्न भनिएको छ ।
दर्ता प्रक्रियामा सबैभन्दा महत्वपूर्ण चरण भनेको औद्योगिक सम्पत्ति बुलेटिनमा सूचना प्रकाशन हो । तर, धेरै व्यवसायीले समयमै कागजात नपुगेका कारण बुलेटिन प्रकाशन रोकिएको विभागको भनाइ छ ।








