काठमाडौं । एमालेले ११औं महाधिवेशनको उद्घाटन समारोहमा माधवकुमार नेपाललाई आमन्त्रण गरिएको छैन । एमालेको अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई मात्र आमन्त्रण गरेको हो । जसकारण नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागी हुने भएका छन् ।
माधव नेपाल नेकपाका सहसंयोजक हुन् । नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका थिए । त्यो पार्टी पनि माओवादीमा लगेर विलय गराएका छन् । साथै, नेकपाका नेता झलनाथ खनाल पनि एमालेको महाधिवेशनमा देखिने छैनन् । १०औं महाधिवेशनमा माधव, झलनाथ, भीम रावल, घनश्याम भुसाल सबै एमालेमा थिए ।
घनश्यामबाहेक सबै नेकपामा छन् । घनश्यामले नेकपा संयुक्त गठन गरेका छन् । यस्तै, पूर्वएमाले उपाध्यक्ष वामदेव गौतम पनि अहिले नेकपामा छन् । गाैतम लामाे समय पार्टी गतिविधिमा देखिएका थिएनन् ।
एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, मजदुर किसान पार्टी (नेमकिपा), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरेको छ ।
यस्तै, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई पनि पत्र पठाएर निम्तो गरिएको अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालले बता्रइन् । एमालेले कोमल वली र सुनिता बराललाई अतिथिलाई बोलाउने जिम्मेवारी दिएको छ ।
एमाले नेता रघुवीर महासेठ, महेश बर्तौलालगायत प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमै पुगेर निमन्त्रण दिएका छन् । देउवाले सकेसम्म आउने वचन दिएका छन् । जेनजी आन्दोलनपछि देउवा एकपटक मात्र पार्टीको केन्द्रीय समिति बैठकमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । त्यसपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।






