काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन वा चुनावपछि कि अघि महाधिवेशन भन्ने विवाद टुंगो नलाग्दा नेता कार्यकर्ता विभाजित बन्न थालेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता चुनावपछि मात्रै चुनावमा जानुपर्ने पक्षमा छन् । तर इतर पक्ष पुसमै नियमित नभए विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी चुनावमा जानुपर्ने अडानमा छन् ।

दुवै पक्ष आआफ्नै अडानमा कायम रहेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक महिना बसेर अलपत्र परेको छ । अब बिहीबार बैठक बस्दैछ । त्यसअघि अहिले दुवै पक्षका छुट्टाछुट्टै भेला तीव्र पारिएको छ ।

ADVERTISEMENT

विशेष महाधिवेशन माग गरिरहेका नेताहरु निर्णायक छलफलमा जुट्न लागेका छन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेताहरु बुधबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा भेला हुन लागेका हुन् । समय घर्किदै गएको अवस्थामा चुनावअघि नियमित महाधिवेशनको सम्भावना नरहेको र पुष महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्ने उनीहरुको जिकिर छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत विशेष महाधिवेशनको विकल्पन नरेहेको भन्दै कार्यकर्तालाई अलमलमा नपर्न आग्रह गरेका थिए । भोलिको बैठकमा विशेष महाधिवेशनको सम्बन्धमा अन्तिम र निर्णायक छलफल हुने बताइएको छ ।

नेतृत्वपंक्तिले बहानाबाजी गरेर चुनावअघि महाधिवेशन नगराएमा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले संयुक्त रुपमा राजीनामा दिने तयारीसमेत गरेको बताइन्छ।
विशेष महाधिवेशन मागका लागि अगुवाइ गर्ने नेता गुरुराज घिमिरेले मंसिर १० मा केन्द्रीयस्तरको सशक्त र प्रभावकारी भेला हुने जानकारी गराए । विशेष सभामा विशेष महाधिवेशनको पक्षधर, तर सार्वजनिक रूपमा धारणा नराखेका नेताहरूले समेत सम्बोधन गर्न उक्त पक्षले जनाएको छ ।

ADVERTISEMENT

संस्थापनका शीर्ष तहका नेताहरूले महाधिवेशनको कार्यतालिका ल्याउन विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने सर्त राखेका छन् । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन मागकर्ताहरूले सुन्नै चाहेका छैनन् । पुसभित्र नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वतः निस्तेज हुने केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् ।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित लिखित माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आव्हान गर्नुपर्ने व्यवस्था छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ मा विशेष महाधिवशेनको माग सहित कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन लिखित प्रस्ताव गरिएको मितिले पुस २८ भित्र महाधिवेशन आह्वान गर्नुपर्दछ ।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेस गरे पनि त्यसबारेमा बैठकले निर्णय लिएको छैन ।

पूर्वपदाधिकारीहरूको एक समूह चुनावअघि नियमित वा विशेष महाधिवेशनको पक्षमा देखिएको छैन । खासगरी कावा सभापति पूर्णबहादुर खड्कालाई अन्तरिम अवधि चलाउने म्यान्डेटसहित सिंगापुर उपचारमा गएका सभापति शेरबहादुर देउवा फेरि शक्तिमा फर्कन खोजेका संशयमा पार्टीभित्रको परिवर्तन पक्षधर शक्तिले रणनीतिबारे सोचिरहेको छ ।

मंगलबार कांग्रेस संस्थापनका केही नेताको भेला ललितपुरमा बसेको थियो । भेलामा केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, कुन्दन काफ्लेलगायत सहभागी थिए । उनीहरूले बीचको बाटो अख्तियार गरी अहिले देखिएको समस्या समाधान गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।