काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा लडेको र उनको हात भाँचिएको समाचार गलत भएको निजी सचिवालयले जनाएको छ।
शुक्रबार देउवाको सचिवालयले विज्ञप्ति जारी गरी आधारहीन हल्ला र भ्रामक समाचार भनेको छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा ‘आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ’ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिवालयले भनेको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ ।’
आधिकारिक पुष्टिबिना हल्ला नफैलाउन देउवाको सचिवालयले आग्रह गरेको छ। ‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टिबिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’
यससँगै सञ्चार माध्यमलाई पनि आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरिएको छ। देउवा श्रीमती आरजु राणा देउवासँगै उपचारका लागि सिंगापुर गएका थिए । पाँच महिनाअघि उनी सिंगापुरबाट हङकङ गएका थिए । अहिले उनी हङकङमै बस्ने गर्छन् ।




