काठमाडौँ । जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ ।

लगातार तीन खेल जितेर ६ अंकका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर ६ अंक नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ ।

चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ । बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन् ।

कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडीको सबैभन्दा बढी एक सय ४७ रन बनाएका छन् । उनी हालसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले प्रतियोगितामा शतकसमेत बनाएका थिए । जुन जारी सिजनको एकमात्र शतक हो ।

त्यसैगरी, उच्च स्कोर बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन् । चिनवन राइनोजका रवि बोपरा एक सय १८ रन बनाउँदै दोस्रो उच्च स्कोर बनाउने खेलाडीको सूचीमा छन् । रविले जारी प्रतियोगितामा दुई अर्धशतकसमेत हिर्काइसकेका छन् ।

प्रतियोगितामा तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा भने नेपाली खेलाडी रहेका छन् । हालसम्म एक सय १४ रन बनाएका विराटनगर किग्ङ्सका लोकेश बम तेस्रो स्थानमा छन् । उनले एक अर्धशतक प्रहार गरिसकेका छन् । चौथो नम्बरमा रहेका पोखरा एभन्जर्सका कप्तानसमेत रहेका कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन् । यसमा उनले दुई अर्धशतक जोडेका थिए ।

यसैबीच, हालसम्मको बलिङ प्रदर्शन हेर्ने हो भने नेपाली खेलाडी प्रथम स्थान छन् । विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन् । दोस्रो नम्बरमा भने विदेशी खेलाडी छन् । सुदूरपश्चिमबाट खेलिरहेका हर्मित सिंह ६ विकेटसहित दोस्रो स्थानमा छन् ।

सर्वाधिक विकेट लिने तेस्रो, चौथो नम्बरमा भने नेपाली खेलाडी अगाडि छन् । ६ विकेट लिएका कर्णली याक्सका सोमपाल कामी तेस्रो र समान ६ विकेट नै लिएका काठमाडौँका कप्तान करण केसी चौथो नम्बरमा छन् । पाँच विकेट लिएर पाँचौँ स्थानमा भने कर्णाली याक्समा अनुवन्धित विदेशी खेलाडी मिलिन्द कुमार छन् । उच्च रन बनाउनेको पाँचौँ नम्बरमा १०२ रन बनाएका कर्णाली याक्समा अनुबन्धित प्रियान्क पन्चाल रहेका छन् । उनले एक अर्धशतकसमेत प्रहार गरेका छन् ।