काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध आक्रामक भएका छन् । बिहीबार मात्र सर्वोच्च अदालतलाई जवाफ दिँदै आफूले कार्कीलाई प्रधानमन्त्री बन्न सिफारिस नगरेको जानकारी गराएका ओली शुक्रबार कडा ढंगले प्रस्तुत भएका छन् ।

ओली चुनाव नै गर्ने हो भने वातावरण बनाएर देखाउन प्रधानमन्त्री कार्कीलाई चुनौती दिए। शुक्रबार एमालेको युथ भोलिन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनै नसक्ने भन्दै यस्तो चुनौती दिएका हुन्।

‘प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु। तपाई अहिले भएका कानुनहरुबाट चुनाव गराउने हो भने खुरुखुरु गराउनुस् न त,’ उनले भने, ‘शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस्। अपराधीहरुलाई नियन्त्रण गर्नुस्, निर्वाचनयोग्य वातावरण बनाउनुस्, म यसको व्याख्या गरिरहन चाहन्न। गराउनुस् न त।’ ओलीले प्रधानमन्त्रीको मनशाय चुनाव गराउनतिर नदेखिएको आरोप पनि लगाए ।

प्रधानमन्त्रीले दलसँग गरेका वार्ता पनि नाटक मात्रै भइरहेको ओलीले बताए। ‘तपाईले गरेका वार्ता कस्ता छन् ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको अरे ! १२५ वटा पार्टीको कहिले वार्ता,’ उनले भने, ‘यो एमाले, कांग्रेसजस्ता पार्टीहरुलाई अपमान गरेको हो, १२५ वटा पार्टीसँग वार्ता गरेको नाटक गरेर। तमासा गरेर।’ तर त्यो तमासा हेर्न पनि आफूहरु गइरहेको ओलीले टिप्पणी गरे।

ओलीले तमासा नगरेर देशलाई माया गर्न सिक्न उनले प्रधानमन्त्री कार्कीलाई आग्रह गरे। उनले भने, ‘देशलाई माया गर्न सिकौँ। म सुशीलाजीलाई भन्न चाहन्छु– देशलाई अरु अनिश्चिततातिर, अरु अशान्ति, अरु अराजकता र बर्बादीतिर लैजान नदिऊँ।’ त्यसका लागि प्रतिनिधिसभाको अविलम्ब पुनः स्थापना गरेर त्यहाँबाट समाधान खोज्नुपर्ने उनले बताए।