काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराएका छन्।

एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार हरिहर भवन, पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष तपबहादुर मगरलाई भेटेर ओलीका तर्फबाट निवेदन दर्ता गराएका हुन्।

ADVERTISEMENT

बर्तौलाका अनुसार आयोगले २०८२ साल भदौ २३ र २४ गतेको घटनासम्बन्धी गरेको निर्णय नम्बर १७७ पूर्वाग्रहपूर्ण, असंवैधानिक र कानुनी आधारविपरीत रहेको दाबी गर्दै उक्त सिफारिस पुनरावलोकन तथा सच्याउन माग गरिएको छ।

ADVERTISEMENT

निवेदनमार्फत यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनको प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको उल्लेख गर्दै थप कागजात उपलब्ध गराउन पनि आग्रह गरिएको छ। विशेषगरी लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको छ।

त्यस्तै, उक्त प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन हटाएको वा थप गरेको तथा त्यसको आधार र कारणसम्बन्धी सम्पूर्ण प्रमाणित कागजात उपलब्ध गराउन पनि निवेदनमा आग्रह गरिएको छ।

ADVERTISEMENT

यदि आयोगले उक्त घटनाबारे थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि एमालेले माग गरेको छ।

एमालेले आयोगको निर्णयमाथि आवश्यक पुनरावलोकन र पारदर्शिता कायम हुने अपेक्षासहित निवेदन दर्ता गरेको जनाएको छ।