काठमाडौं । बागमती प्रदेशको अर्थतन्त्रमा पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार, आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धि दर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो दर ३.७ प्रतिशत मात्र थियो, जसअनुसार यस वर्ष वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो।
राष्ट्र बैंकका प्रारम्भिक तथ्यांकअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने अनुमान गरिएको छ।
कृषि क्षेत्रमा उत्पादन घट्दो, तर बागवानीमा सुधार
गत आवमा बागमती प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशतले घटेको छ। यस्तै, बाली उत्पादन पनि ६.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
मुख्य खाद्यान्न बालीमध्ये कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ, तर धान १.१५, मकै ५५, फापर ५.१५, गहुँ १८.५५ र जौ ३२.६५ ले घटेको छ। तरकारी तथा बागवानी उत्पादनमा भने सुधार देखिएको छ । यो क्षेत्र १६।२ प्रतिशतले बढेको छ। पशुपालनतर्फ दूध उत्पादन १.२५ र मासु उत्पादन २.९५ घटेको छ, जबकि अण्डा उत्पादन २.७५ बढेको छ। बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा कुल कर्जाको ३।७ प्रतिशत मात्र प्रवाह गरेका छन्।
औद्योगिक क्षेत्रको क्षमता घट्यो, तर चाउचाउ उद्योग अग्रणी
गत आर्थिक वर्षमा बागमती प्रदेशका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत मात्र रहेको छ। अघिल्लो वर्ष यो दर ४४.३ प्रतिशत थियो, जसअनुसार औद्योगिक गतिविधि घटेको देखिन्छ। प्रदेशभित्र चाउचाउ उद्योगको क्षमता उपयोग सबैभन्दा बढी रहेको छ भने गार्मेन्ट उद्योग सबैभन्दा कमजोर देखिएको छ। बैंकहरूले प्रवाह गरेको औद्योगिक कर्जा कुल कर्जाको ३६.४ प्रतिशत रहेको छ।
निक्षेप र कर्जा प्रवाहमा वृद्धि
२०८२ असार मसान्तसम्म बागमती प्रदेशका बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप १०.८४ प्रतिशतले वृद्धि भएको छ। यस्तै, कर्जा प्रवाह ११.३५ प्रतिशतले बढेको छ। प्रदेशमा कर्जा–निक्षेप अनुपात औसत ६९.२७ प्रतिशत रहेको छ।
सडक र यातायातमा तीव्र विस्तार, गत आवमा बागमती प्रदेशमाः
९०.४२ किलोमिटर नयाँ सडक निर्माण, १४८.९३ किलोमिटर ग्राभेल र ३६२.२३ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति भएको छ। सोही अवधिमा ३७ वटा सडक पुल र ७ वटा झोलुंगे पुल निर्माण भएका छन्। पछिल्ला तीन आर्थिक वर्षमा जम्मा १२३५.४८ किलोमिटर नयाँ सडक निर्माण भइसकेको छ। यातायात सवारी दर्ता पनि ४५.२ प्रतिशतले बढेको छ।
रोजगारी र वैदेशिक रोजगार
आर्थिक वर्ष २०८१÷८२ मा बागमती प्रदेशबाट १ लाख ३७ हजार ६ सय जना वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या कुल श्रम स्वीकृतिको १६.३९ प्रतिशत हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सोही वर्ष ७ हजार ८ सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन्।
प्रदेश सरकारको खर्च र राजस्व स्थिति
गत आवमा बागमती प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये ४७ अर्ब ६२ करोड (७३.७९%) खर्च भएको छ। २०८२ असार मसान्तसम्म कुल २८ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।
राष्ट्रिय सन्दर्भमा नेपालको आर्थिक वृद्धि
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालको समग्र आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने अनुमान छ। अघिल्लो आव २०८०÷८१ मा यो दर ३.७ प्रतिशत रहेको थियो।
कुल गार्हस्थ्य उत्पादनमा योगदानका दृष्टिलेः
कृषि क्षेत्र २५.२%,
उद्योग क्षेत्र १२.८%,
सेवा क्षेत्र ६२.०% रहने अनुमान गरिएको छ।






