काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण सुरु गरिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि नियमित यातायात सञ्चालनका लागि निर्माण कार्यलाई तीव्रता दिइएको छ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार आज निर्माणको ११औँ दिन हो। अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।
उनका अनुसार थप पहिरो नआए असोज १ गतेदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ।
हाल नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने, ड्रेन निर्माण गर्ने तथा पाइप राख्ने काम भइरहेको छ। निर्माणको सुरुआती चरणमा ११–१२ वटा उपकरण परिचालन गरिएको थियो।
अहिले करिब ४०–५० जना मजदुर तथा ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन्। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले नयाँ ट्र्याकको ग्रेडिङ सकिएपछि फिनिसिङको काम भइरहेको बताए।
उनले नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला भइनसकेको स्पष्ट पारे। आइतबार परीक्षणका लागि मात्रै केही सवारीसाधन सञ्चालन गरिएको र अहिले ट्र्याक पुनः बन्द रहेको उनले जानकारी दिए।
थप समस्या नआए असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित यातायात सञ्चालन गर्ने योजना रहेको मिश्रले बताए।









