काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशभरको मौसम साधारणतया बदली रहनेछ।

बिहान कोसी, बागमती, गण्डकीलगायत प्रदेशका पहाडी तथा हिमाली भेगमा बादल लागेको छ भने कोसी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

कोसी प्रदेशको हिमाली भेगका एक–दुई स्थानमा भने भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो कोसी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

ADVERTISEMENT

देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र बागमती, गण्डकी तथा लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कति वर्षालाई हल्का, मध्यम र भारी भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम र ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी वर्षा भनिन्छ।

त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ। वर्षाको सम्भावना जनाउने शब्दमा पनि निश्चित अर्थ हुन्छ।

एक–दुई स्थान भन्नाले १० प्रतिशतभन्दा कम भूभाग, थोरै स्थान भन्नाले १०–३० प्रतिशत, केही स्थान भन्नाले ३०–५० प्रतिशत, धेरै स्थान भन्नाले ५०–८० प्रतिशत र अधिकांश स्थान भन्नाले ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना रहेको बुझिन्छ।