काठमाडौं । गृह मन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय अत्यन्तै संवेदनशील भएको भन्दै कतिपय विषय सार्वजनिक गर्न नसकिने बताएका छन्। उनले आफ्नो आधिकारिक फेसबुकमार्फत लेख्दै गृह मन्त्रालयले धेरैजसो काम शान्त रूपमा, तर जिम्मेवारीपूर्वक गरिरहेको बताएका हुन्।
उनका शब्दमा, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ त भन्न मिल्दैन, के गर्यो समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन।”
मन्त्री अर्यालले आफू र मन्त्रालयको टोली सुशासनको बाटोमा हिँडिरहेको उल्लेख गर्दै भनेका छन्, “कार्यकालको अन्त्यमा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद दिनेछौँ। पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोऱ्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।”
उनको यो अभिव्यक्तिले पछिल्ला दिनमा गृह मन्त्रालयका गतिविधि र निर्णयहरूबारे उठिरहेका प्रश्नहरूबीच सरकारको जिम्मेवारी र प्रतिबद्धताको सन्देश दिएको बुझिन्छ।







