काठमाडौँ । सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र, ‘मिडिया’ नीति तथा सञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको बताए । उनले दूरसञ्चार सेवाको गुणस्तर सुधार, प्रतिस्पर्धा विस्तार तथा सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गरे ।

हाल तत्काल फोरजी सेवा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको उल्लेख गर्दै उनले अहिलेलाई फोरजी सेवालाई अधिकतम प्रभावकारी बनाउने र त्यसपछि क्रमिक रूपमा फाइभजी कार्यान्वयन गरिने तयारी भइरहेको जानकारी दिए । फाइभजी सेवा सुरु गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक फ्रिक्वेन्सी निर्धारण र वितरणसम्बन्धी तयारीसमेत अगाडि बढाइएको उनको भनाइ थियो ।

ADVERTISEMENT

दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन थप मोबाइल अपरेटर आवश्यक रहेको विषयमा पनि सरकारले अध्ययन गरिरहेको मन्त्री तिमिल्सिनाले बताए । हाल दुई कम्पनीले मोबाइल सेवा प्रदान गरिरहेको अवस्थामा तेस्रो मोबाइल अपरेटरको आवश्यकता पहिचान तथा निर्धारणका सन्दर्भमा आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले यसले दूरसञ्चार क्षेत्रलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

सरकारले नेपाल टेलिकमलाई थप सुदृढ बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनताको हितमा उपयोग गर्ने तथा समग्र दूरसञ्चार प्रणालीलाई मजबुत बनाउने नीति लिएको पनि उनले बताए । यी विषयमा मन्त्रालयले नेपाल टेलिकम तथा नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग नियमित छलफलमा रहेको उनको भनाइ थियो ।

ADVERTISEMENT

दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि कानुन कार्यान्वयन गर्दै सुधार प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । विशेषगरी नेपाल टेलिकमसँग सम्बन्धित बिलिङ बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सञ्चारमन्त्रीले यी कार्यमा विद्यमान विधि विधानभित्र रहेर पारदर्शितालाई केन्द्रमा राखी कुनै विवाद सिर्जना नहुने गरी समाधान खोजिने बताए ।