काठमाडौँ, १६ असोज – नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। यसैबीच नारायणी, बागमती, कमला र कोशी नदीको बहाव खतरा तह नजिक पुग्ने देखिएको छ भने उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लाका स–साना नदीमा आकस्मिक बहाव आउने जोखिम उच्च रहेको प्राधिकरणले चेतावनी दिएको छ।
दशैंको समयमा यात्रा र चहलपहल बढी हुने भएकाले सरकारले थप सावधानी अपनाउन आग्रह गरेको हो।
प्राधिकरणले जारी गरेको निर्देशन अनुसार:
-
अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्नु।
-
जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र सडकको अवस्थाअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय गर्न सक्ने र त्यस्तो निर्णय पालना गर्नुपर्ने।
-
पहिरो जोखिम भएका तथा नदी किनारका बस्तीमा बसोबास गर्नेले उच्च सतर्कता अपनाउने।
-
डुबान हुने सम्भावना भएका बस्तीका बासिन्दाले सुरक्षित र उचाइ स्थानबारे जानकारी लिने र आवश्यक पर्नासाथ त्यहाँ सारिने।
-
तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकसहितका निकाय सतर्क र तयारी अवस्थामा रहने।
-
जोखिमयुक्त राजमार्ग तथा सडकमा तत्काल परिचालन गर्न सकिने गरी डोजर, एक्साभेटर, लोडरजस्ता साधन तयारी अवस्थामा राख्ने।
-
साझेदार संस्थाहरु जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही प्रतिकार्यमा सहयोग गर्ने।
प्राधिकरणले विशेषगरी दशैंका समयमा अनावश्यक यात्रा नगरी सुरक्षित स्थानमा रहन तथा नदी, नाला र पहिरो सम्भावित क्षेत्रमा सतर्क रहन पुनः सबैलाई आग्रह गरेको छ।







