काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले सय दिन पूरा गरेलगत्तै पार्टीभित्रैबाट प्रधानमन्त्रीमाथि फायर खोलिएको छ । रास्वपा सचेतक क्रान्तिशिखा धितालले बालेन सरकारको कडा आलोचना गर्दै अब चुप लागेर नबस्ने संकेत गरेकी हुन् ।

होल्डिङ सेन्टरमा थन्क्याइएका सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार देखाएपछि रास्वपा सचेतक धितालले आलोचना गरेकी हुन् । उनले सोमबार राति सामाजिक सञ्जालमार्फत सरकारको तीखो आलोचना गरेकी हुन् ।

ADVERTISEMENT

‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँशुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर,के यो हाम्रो वाचापत्रअनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता,योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो,’ उनले लेखेकी छन् ।

ADVERTISEMENT

धितालले सामाजिक सञ्जालमा व्यक्त गरेको उक्त अभिव्यक्तिपछि कतिपयले यसलाई गोहीको आँशुको संज्ञा दिएका छन् । आलोचकहरूको तर्क छ कि धिताल आबद्ध दल सरकारमै सहभागी भएकाले यस्ता विषय फेसबुकमा मात्र उठाउनु राजनीतिक जिम्मेवारीबाट पन्छिने उद्देश्य मात्रै हो ।

तर धेरैले भने अब बालेनको कार्यशैलीप्रति रास्वपा संस्थापन पक्ष सन्तुष्ट छैन भन्ने संकेत गरेको बुझेका छन् । धिताल रास्वपा सभापति रवि लामिछानेको कोर टिमकी सदस्य हुन् । उनी रविसँगै ग्यालेक्सी टिभीमा कार्यरत थिइन् । स्रोतले जनमानसमा कस्तो प्रतिक्रिया आउँछ भनेर धितालमार्फत फायर खोलिएको जनाइएको छ ।

अब विस्तारै बालेन सरकारको कार्यशैलीबारे पार्टीभित्रैबाट आलोचना हुने बुझिएको छ । रास्वपा संसदीय दलको विधानमा दलका नेता सभापतिले गरेको निर्देशन नमाने पदमुक्त गर्न सकिने उल्लेख भएको तथ्य खुलेकै दिन धितालले आफ्नै सरकारको आलोचना गरेकी हुन् ।