काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ।
नेप्से परिसूचक घटेर फेरि २६०० विन्दुभन्दा तल झरेको छ। गत मंगलबार २६०० विन्दुभन्दा तल बन्द भएको नेप्से, बुधबार बढेर सो विन्दुभन्दा माथि बन्द भएको थियो।
१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्रै बढेको छ । ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार चार अर्ब ६८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३२० स्टकको ५० हजार ४३७ पटकको कारोबारमा पाँच अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबरको एक करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
शिवम् सिमेन्ट् कम्पनीको ३० करोड ९१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको साढे ३० करोड र हिमालयन डिष्टिलरीको साढे २७ करोड रुपैयाँको कारोबार भएको छ ।
बिहीबार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। माबिलुङ्ग गत मंगलबारदेखि कारोबारमा आएको कम्पनी हो भने दरमखोला आजदेखि करोबारमा आएको हो।





