काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन ४४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ३.८९ अंक, फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ। दिनभरजसाे नेप्से परिसूचक नकारात्मक भए पनि कारोबार बन्द हुने बेला सेयर बजार बढेकाे हाे ।

ADVERTISEMENT

बिहीबार १३ मध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ। जसका कारण नेप्से परिसूचक बढ्न पुगेको हो। वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार तीन अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बिहीबार बजारमा ३५९ स्टकको ४३ हजार १३१ पटकको कारोबारमा चार अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको ८९ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

लक्ष्मी सनराइज बैंकको ४१ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १० प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०८५–८६ को साढे ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आज चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०८५–८६ को मूल्य सर्वाधिक १०.६० प्रतिशत घटेको छ।