काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले प्रतिवेदनमा एमालेसँगको विद्रोह र औचित्य, जेनजी आन्दोलनप्रति पार्टीको धारणा, पार्टी पुनर्गठन वा एकतालगायतका विषय समेटेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उनले पार्टीभित्र एमालेसँग एकताको वकालत गर्ने नेताहरूलाई केपी ओलीसमक्ष लम्पसार पर्न जान चुनौती दिएका छन्। उनले एमालेबाट विद्रोह गर्नुको औचित्यमाथि प्रश्न उठाउनुको कुनै अर्थ नभएको र यो विषय पार्टीको दशौं महाधिवेशनबाट सर्वसम्मतिले टुंगिसकेको दाबी गरे ।
पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेतृ रामकुमारी झाँक्रीलगायतका नेताहरूले विद्रोहको औचित्यमाथि प्रश्न उठाइरहेको बेला अध्यक्ष नेपालले कडा टिप्पणी गर्दै विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नुबाहेक केही नभएको बताए ।
उनले महाधिवेशनबाट टुंगिएको विषयमा फेरि प्रश्न उठाउनु पार्टी अनुशासनको उल्लंघन हुने चेतावनीसमेत दिए। नेपालले यसअघि पनि विभिन्न कार्यक्रममार्फत विद्रोहको विरोध गर्नेहरूले पार्टी छोड्न सक्ने बताएका थिए।
अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अन्य कम्युनिस्ट घटकसँग एकताको ढोका भने खुला राखेका छन्। तर, त्यसका लागि उनले केही वैचारिक र सैद्धान्तिक सर्तहरू अघि सारेका छन्, जसलाई माओवादीसँगको एकता प्रयासतर्फ लक्षित मानिएको छ।
प्रतिवेदनअनुसार, पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवाद हुनुपर्ने, देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको स्वीकार गर्नुपर्ने, र पार्टीको संगठनात्मक सिद्धान्त लेनिनवादी हुनुपर्ने जस्ता अवधारणामा सहमति भए मात्र एकता सम्भव हुने उल्लेख छ।
तर एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले एमालेसँगको एकता नै सहज र स्वाभाविक हुने बताएकी छिन्। ‘अब हामी समाजवादीहरूको ठूलो हिस्साका लागि एकता एमालेसँग हुनु राम्रो हो, किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो,’ उनले बैठकस्थलमा सञ्चारकर्मीसँग भनिन् ।
उनले माओवादीसँगको एकता सहज र सजिलो नहुने बताउँदै नेतृत्वले पार्टीभित्र पुनर्गठनको बाटो नअपनाएसम्म न त एमालेसँग र न त माओवादीसँग अर्थपूर्ण एकता सम्भव हुने बताइन्।
नेतृत्वले पदमा टाँसिएर एकता खोजे भने त्यो अनेकतामा परिणत हुन्छ भन्ने उनको चेतावनीले एकीकृत समाजवादीका नेताहरु एमाले र माओवादीसँग विभाजित हुने देखिएको छ ।
झलनाथ खनाल र घनश्याम भुसाल पनि तत्काल माओवादीसँग एकता गर्ने पक्षमा छैनन् । त्यसैले धेरैजसो नेताहरु एकीकृत समाजवादीका ६० प्रतिशत नेता कार्यकर्ता मात्रै माओवादीमा समाहित हुने बताउन थालेका छन् ।









