काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबार बस्दैछ । सुकेधारास्थित मिराकल भेन्युमा आयोजित बैठक कात्तिक १४ गतेसम्म चल्नेछ ।

बैठकमा भाग लिन अध्यक्ष माधवकुमार नेपाललगायत नेता मिराकल भेन्युमा पुगेका छन् । पूर्वप्रधानमन्त्री नेपाल सरकारी सुरक्षाविनै बैठकस्थलमा देखिएका छन् ।

सरकारले पूर्वप्रधानमन्त्री नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर नेपाल रिहा भएका थिए । भ्रष्टाचार मुद्दाका आरोपी भएकाले नेपालको सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।