काठमाडौं । एकीकृत समाजवादी विभाजनको संघारमा उभिएको छ । जारी केन्द्रीय कमिटी बैठकको दुई तिहाइ बहुमतले माओवादीसँग पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको तयारी छ । यदि यो निर्णय भएमा आजै पार्टी फुट्ने नेताहरूको भनाइ छ ।
नेपालले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर ढिलोमा कात्तिक २४ गतेसम्म पार्टी एकतामा जाने रणनीति बनाएका छन् ।
एकीकृत समाजवादीका ११ नेताले माओवादीसँगको एकतामा सामेल नहुने बताइसकेका छन् । जसमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल छन् । यस्तै, स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमार झाँक्री पनि माओवादीसँग एकतामा नजाने भनिसकेका छन् ।
पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अच्युत घिमिरे पनि एकता प्रक्रियामा नजाने बताइएको छ । यो त अहिलेसम्म सार्वजनिक भएका ठूला नेताको नाम हो । स्रोतका अनुसार वामदेव गौतम, भानुभक्त जैसी, किसान श्रेष्ठ, प्रेम आलेलगायत पनि माओवादीमा नजाने भएका छन् ।
यदि माधव नेपालले बहुमतले पेलेरै प्रचण्डको माओवादीसँग एकताको निर्णय गराएमा आजै घनश्याम भुसालको अध्यक्षतामा अर्को पार्टी गठन हुनेछ । जुन पार्टीको संरक्षकमा झलनाथ खनाल हुनेछन् । उनी श्रीमती रविलक्ष्मी चित्रकारलाई भारतमा उपचार गराउँदा गराउँदै छाडेर केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौं आएका हुन् ।
एकीकृत समाजवादीमा अहिले माओवादीसँग मिल्ने, एमालेमा जानुपर्ने र नयाँ पार्टी खोल्नुपर्ने गरी तीनथरी विचार बोकेका नेता छन् । यदि माधव नेपाल माओवादी प्रवेश गरेमा त्यही पार्टी चलाउने झलनाथ खनालले बताइसकेका छन् ।





