काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८१–८२ को वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने करसमेत) प्रदान गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।