काठमाडौं। ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ नागरिक एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ।

यससँगै राष्ट्रिय परिचयपत्रमा आधारित पहिचान प्रयोग गरी नागरिक एपबाटै अनलाइन माध्यमबाट व्यक्तिगत बचत खाता खोल्न सकिने व्यवस्था लागू भएको बैंकले जनाएको छ।

ADVERTISEMENT

यस सेवाअन्तर्गत नागरिक एपमा आबद्ध नेपाली नागरिकले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सहज रूपमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। खाता खोल्न आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध लिंकमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

नेपालमै पहिलो पटक सुरु गरिएको यस प्रकारको सेवाले बैंक खाता खोल्ने प्रक्रियालाई अझ सरल, छरितो र प्रविधिमैत्री बनाउने विश्वास बैंकको छ। विशेषगरी १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका नागरिकले घरमै बसेर अनलाइनमार्फत खाता खोल्न सक्नेछन्।

खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वस्वीकृति लिएर आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसबाट ग्राहकले बारम्बार व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै सूचनाको गोपनीयता र सुरक्षासमेत सुनिश्चित हुने बैंकले जनाएको छ।

नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालनमा ल्याउन भने ग्राहकले आफ्नो नजिकको ग्लोबल आइएमई बैंक शाखामा उपस्थित भएर वा भिडियो केवाईसी ९प्थ्ऋ० प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार यो सेवाले सरकारी डिजिटल पूर्वाधारको प्रभावकारी उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने सम्पूर्ण प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले देशभर ३४२ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।