काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधि प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्ने भएको छ। बैंकले प्रतियोगितामा सहभागी हुन इच्छुकका लागि आवेदनसमेत खुला गरेको छ।

बैंकका अनुसार ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ आगामी मे २९ देखि ३१ सम्म सञ्चालन हुनेछ। यसअघि बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक एआई/एमएल ह्याकाथन आयोजना गरेको थियो, जसमा विद्यार्थी, स्टार्टअप, डेभलपर तथा डेटा वैज्ञानिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

ADVERTISEMENT

यस पटकको प्रतियोगितामा प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूले भाग लिन सक्नेछन्। सहभागी हुन इच्छुकले मे ४, २०२६ भित्र बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

प्रतियोगितामा सहभागी टोलीहरूले ‘अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर’, ‘एजेन्टिक फ्रड डिटेक्सन’, ‘मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक’ तथा ‘एआई ड्रिभन इन्ट्रुजन डिटेक्सन सिस्टम (आईडीएस)’ जस्ता विषयहरूमा आधारित आफ्ना नविन अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ।

ADVERTISEMENT

बैंकका अनुसार ह्याकाथनले डिजिटल बैंकिङ सेवामा नवीनतम् प्रविधि विकास गर्न तथा सम्भावित चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ।

ग्लोबल आइएमई बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको यस बैंकले ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। साथै बैंकले विभिन्न देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।