काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो कटान र डुबान भएको छ। बाढीका कारण मानवीय क्षतिसँगै स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको बैंकले जनाएको छ।
बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने जनाएको छ।
ग्लोबल आइएमई बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको दाबी गरेको छ।
बैंकका अनुसार ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।






