काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रममध्ये यो रक्तदान कार्यक्रम एक महत्वपूर्ण पहल हो।
बैंकले पौष १८ गते आफ्नो १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गर्दै मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको आयोजना कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा गरिएको थियो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा ५५८ जनाले रक्तदान गरेका छन्। संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण गरिने बैंकले जानकारी दिएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्दै आएको छ। बैंकले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’ लगायत प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।
देशभर ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत् अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट नेपाली नागरिकलाई आर्थिक सेवा उपलब्ध गराउँदै नेपालमा समृद्धिमा योगदान पुर्याइरहेको छ।







