काठमाडौं, काठमाडौँ महानगरपालिकाले यस तिहारमा स्वदेशी फूलमालाको प्रयोगलाई प्रोत्साहन र आयातित तथा प्लास्टिकजन्य मालाको प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरेको छ। महानगरका अनुसार यस वर्ष पनि नेपाली किसानले उत्पादन गरेका सयपत्री र मखमली फूलहरूको बिक्री–वितरण सहज बनाउन विशेष व्यवस्था गरिएको छ।
काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) का अनुसार, “हामी विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन र आयातित वस्तुको निरुत्साहनका लागि निरन्तर प्रयासरत छौँ। निर्वाचित भएदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्रीमा रोक लगाएका थियौँ, र यस तिहारमा पनि त्यही नीति कडाइका साथ लागू हुनेछ।”
महानगरले कार्तिक १ देखि ३२ स्थानमा फूल बिक्रीका लागि स्थल तोकेको छ। किसानलाई बजारमा सहज पहुँच दिलाउन, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको महानगरले जनाएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ।
साहले थपे, “हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकोस्।”
नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। त्यसैले महानगरले नागरिकलाई “नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो” भन्ने सन्देशसहित स्वदेशी फूल प्रयोग गर्न आग्रह गरेको छ।
काठमाडौँ महानगरपालिकाले तोकेका ३२ स्थानहरू (फूलमाला बिक्री–वितरणका लागि):
१. एन.भी. सेन्टर – नयाँ बानेश्वर
२. बिग मार्ट – शंखमूल
३. आइ प्लेक्स मल – नयाँ बानेश्वर
४. सेल्सबेरी – मध्यबानेश्वर
५. फोनेक्स टावर – बत्तीसपुतली
६. तिनकुने चौर – तिनकुने
७. सिफल चौर – सिफल
८. एसी कम्प्लेक्स – चाबहिल
९. गणेशस्थान तरकारी बजार – चाबहिल
१०. के.एल. टावर पूर्व – चाबहिल
११. चाबहिल सेन्टर अगाडि – चाबहिल
१२. धर्म चक्र पार्क – स्वयम्भू
१३. कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
१४. द्यौखेल – कालिमाटी
१५. भाटभटेनी – कलङ्की
१६. भ्याली कोल्ड स्टोर – नयाँ बजार
१७. बुद्ध महल – माछापोखरी
१८. गुणस्तर खाल्डो – माछापोखरी
१९. वडा ५ अगाडिको डबली – हाँडीगाउँ
२०. गणेश मन्दिर डबली – हाँडीगाउँ
२१. कोइराला स्मार्ट – सामाखुशी, वडा २६
२२. सेल्सबेरी – महाराजगञ्ज
२३. बिग मार्ट – गङ्गबु
२४. बिग मार्ट – चपलकारखाना
२५. बिग मार्ट – बालुवाटार
२६. आइटी भवन – कमलादी, वडा २८
२७. स्टार मल – पुतलीसडक, वडा २८
२८. भाटभटेनी – अनामनगर, वडा ९
२९. टेवाल मन्दिर – सुन्धारा
३०. काठमाडौँ महल – सुन्धारा
३१. वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
३२. बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट






