काठमाडौं — जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई साना–साना घटनामा परिचालन गरेर सेनाको साख कमजोर बनाएको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेनालाई आन्तरिक साना घटनामा बारम्बार परिचालन गर्दा जनतामाझ सेनाप्रतिको विश्वास घट्न सक्ने र त्यसले दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षामा नकारात्मक प्रभाव पार्ने बताए।
ढुंगानाले कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसपछि स्थिति नियन्त्रणका लागि सेना परिचालन गर्नु दुवै गलत भएको टिप्पणी गरे। उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली चलाएको आरोप लगाउँदै द्वन्द्व व्यवस्थापनमा प्रहरीले प्राणघातक हतियारको सट्टा ‘नन–लिथल’ उपकरण प्रयोग गर्नुपर्ने धारणा राखे।
उनले कप्तानगञ्ज घटनाको नैतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। साथै, नेपालजस्तो बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुकमा सुरक्षा रणनीति दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
ढुंगानाले सेनाको जनविश्वास कमजोर भए भविष्यमा सुरक्षा चुनौती झन् गम्भीर बन्न सक्ने चेतावनी दिँदै राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर नीति बनाउन सरकारसँग आग्रह गरे। साथै, पेट्रोलियम पदार्थमा भइरहेको मिसावट रोक्न, मूल्य घटाउन तथा परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।





