काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै महतले देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।
महतका अनुसार देउवा २६ गते राति ९ः४५ बजे नेपाल फर्किने पूर्वनिर्धारित कार्यक्रम छ। तर, नेता–कार्यकर्तालाई सहज हुने गरी सम्भव भएसम्म दिउँसोको समयमा उनको आगमन मिलाउने प्रयास भइरहेको उनले बताए।
‘अहिलेसम्म देउवा आउने पूर्वनिर्धारित कार्यक्रम २६ गते ९ः४५ बजे नै छ,’ महतले भने, ‘तर, सबैलाई सजिलो होस् भनेर हामी सकेसम्म दिउँसोको समय मिलाउने कोसिस गरिरहेका छौँ।’
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि विदेश गएका थिए। उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।
लामो समय विदेशमा उपचार गराएर देउवा स्वदेश फर्किन लागेपछि कांग्रेसभित्र उनको स्वागत तथा आगामी राजनीतिक गतिविधिबारे चासो बढेको छ।
यसैबीच, कांग्रेसको संस्थापनइतर समूहले आगामी २९ साउनदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताइएको छ।
भेलाको तयारीका लागि संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिसकेको छ।
देउवा स्वदेश फर्किएपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि तथा आगामी राष्ट्रिय भेलालाई लिएर थप छलफल अघि बढ्ने नेताहरूले बताएका छन्।





