काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गराउने आमनिर्वाचन र गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेनजी आन्दोलनमा भएका दमन र तोडफोडको घटना छानविन गर्ने आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

भक्तपुरस्थित एमाले जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले विघटित संसद् पुनस्र्थापनाका लागि आन्दोलन गर्ने बताए । उनले आफ्नो पासपोर्ट रद्द गर्ने र उपत्यका बाहिर जान नदिने सरकारी निर्णयलाई तमासा भनेका छन् ।

संसद रहने र संविधान रहने गरी निकास खोज्न आफूले सहमति जनाएको, तर संसद विघटन भएको आरोप लगाए । उनले सरकारलाई वार्ता गर्न नदिएको पनि बताए ।

ADVERTISEMENT

ओलीले लो्कतन्त्रको बाटोमा देशलाई फर्काउने पनि बताए । उनले २३ भदौको गोलीकाण्ड भोलिपल्टको आगजनी र तोडफोडका लागि आधार तय गर्न गराइएको पनि आरोप लगाए । उनले त्यसमा जिम्मेबारी लिएनन् । ओलीले आफू नभाग्ने बताए । ‘सुशीला कार्कीजीको डरले केपी ओली भाग्छ गुटुटु ? मैले यी गृहमन्त्रीको नाम सुनेको थिइनँ । गृहमन्त्री बाबुलाई नचम्किन, सम्हालिन सुझाब दिन चाहन्छु । जेलनेल हाम्रा लागि नयाँ कुरा होइन,’ ओलीले भने ।

ADVERTISEMENT

‘संसद फिर्ता गर्ने माग राखेर अघि बढ्नेबाहेक अरु विकल्प छैन । नेपाली कांग्रेस पनि यही बाटोमा अघि बढ्नेछ । देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने यो बाहेक अन्य बाटो छैन । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्नेछ । फागुन २१ गते पर्खिनुपर्दैन। नेपाली जनताले आन्दोलनको आँधीवेहेरी सिर्जना गर्नुपर्नेछ । शान्ति र जनताको सुरक्षाको प्रबन्ध राजनीतिक दलको अगुवाईमा गर्नेछौँ, एमालेले अगुवाई गर्नेछ,’ उनले भने ।

ADVERTISEMENT

ओलीले आफ्नो सम्पत्ति छानविन गर्न माग गरे । ‘सम्पत्ति छानविन गर्ने अरे । एकपटक होइन, दशपटक छानविन गर । मन्त्रीजीहरु तपाईहरु आफ्नै सम्पत्ति छानविन गर्न सक्नुहुन्छ ? पहिले नै केपी ओली थुन्नुपर्छ, समाउनुपर्छ भन्नेहरुको आयोग बनाएर प्रतिवेदन बनाउने नाटक एमालेलाई स्वीकार्य छैन । एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन,’ उनले भने, ‘आयोगमा बस्न भन्दा अगाडिका अभिव्यक्तिहरु आइसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्दैनथ्यो ? एउटा विरोधी निस्पक्ष हुन्छ ? के गरेर उहाँहरु निस्पक्ष हुनुभयो ? बाग्मतीको पानी खानुभो ? गंगाजल खानुभो । तपाईँहरु प्रतिबेदन लेख्नुस्, बुझाउनुस् । एमालेलाई मान्य छैन । जे गर्नुछ गर्नुस् ।’

ओलीले यो सरकार संविधानसम्मत नभएको पनि बताए । ‘यो सरकारलाई संविधानले चिन्दैन । यो सडक तमासा नभए के हो ? नेताहरुलाई मुद्दा चलाएर जेल हालेर अपमान गरेर बुथ कब्जा गरेर कसैलाई चुनाव लड्न नदिएर बुथ कब्जा गरेर चुनाव घोषणा गर्न खोजिएको होला, यस्ता दिवासपना साकार हुन्छ भनेर नठाने हुन्छ,’ ओलीले भने, ‘चुनाब गराउनु छ, उहाँहरु राजनीतिक दलहरुसँग सम्वाद गर्नुहुन्न । राजनीतिक दलहरुलाई दमन गर्न खोज्नुभएको छ । दलहरुलाई बाइपास गरेर दमन गरेर चुनाब हुन्छ ?’