काठमाडौँ । अदालतमा मुद्दा नपुग्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक छुट्ने भएका छन् । प्रहरीले दुवैलाई हाजिर जमानीमा रिहा गर्ने भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले ओली र लेखकलाई रिहा गर्ने निर्णय गरेको हो ।
सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रोपटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथोपटक म्याद नथप्न र अनुसन्धान पूरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्ववय विनोद शर्मा र सुनिलकुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासतमुक्त गर्न आदेश गरेका थिए । चैत २१ गतेबाट लागू हुने गरी काठमाडौँ जिल्ला अदालतले तेस्रोपटक ५ दिनको म्याद दिएको थियो । सो अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोहीअनुसार गर्न र सो हुन नसके तत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पुरा गरेर हिरासतमुक्त गरेर गरेर थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।
स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको र लेखकलाई प्रहरीले महाराजगञ्जस्थित सशस्त्र प्रहरी नम्बर–२ गणमा थुनेको थियो । ओलीको शनिबार अप्रेसनको मिति तोकिएको छ । अब प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरेपछि मात्रै ओली र लेखकलाई नियन्त्रणमा लिने छ ।






