काठमाडौं । एमाले अध्यक्ष केपी ओली राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध खनिएका छन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले अब पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनुपर्ने बताउँदै संसद् पुनर्स्थापना कि अदालत कि राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुपर्ने बताएका हुन्।
‘हामी विघटित प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र,, प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनु पर्दछ,’ ओलीले भने, ‘जसले पुनर्स्थापना गर्दछ, त्यसैले गर्नुपर्दछ। कि त अदालतले गर्छ होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ।’
राष्ट्रपति पौडेलले ‘असंवैधानिक ढंगले विघटन गर्न सक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ ?’ भन्दै उनले प्रश्न गरे। ‘गर्नुपर्यो नि त। विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नुपर्छ,’ उनले भने। यस कुरामा सबैले लेख्न र बोल्न पनि सक्नुपर्ने ओलीको भनाई छ। ‘सत्यको पक्षमा हामी बोल्न सक्नुपर्छ। सुकरात बोल्न सक्ने, हामी बोल्न नसक्ने भन्ने हुन्छ,’ ओलीले भने।
एमालेले संसद् पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । एमालेले आफू निकट अधिवक्तालाई संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न लगाएको छ ।






