काठमाडौं, शुक्रबारदेखि सक्रिय भएको वर्षा प्रणाली क्रमशः पूर्वतिर सर्दै गएपछि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टरेको मौसमविदले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा प्रणाली कमजोर भइसकेको र ठूलो पानी पर्ने संकट टरेको जानकारी दिनुभयो। मधेश प्रदेशमा अझै पनि वर्षाको बादल देखिए पनि शनिबारको जस्तो ठूलो वर्षा पर्ने सम्भावना कम रहेको उनले बताए।
अहिले वर्षा प्रणाली कोशी प्रदेशमा केन्द्रित भएको छ। त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने अर्यालले बताए।
मौसमविद् डेभिड ढकालले आज साँझसम्म वर्षा प्रणाली पूर्वबाट पनि बाहिरिने सम्भावना रहेको जानकारी दिएका छन् । काठमाडौं उपत्यकासहित बागमतीमा अब लगातार वर्षाको सम्भावना नरहेको र भारी वर्षा पनि नहुने उनले बताए।
शुक्रबारदेखि नेपालको मनसुन प्रणालीमा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव देखिएको थियो। साथै भारतको उडिशा राज्य आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव पनि मौसम प्रणालीमा मिसिँदा काठमाडौंदेखि झापासम्म भीषण वर्षा भएको थियो।
२४ घण्टामा रौतहटमा सर्वाधिक वर्षा
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा ३५२ मिलिमिटर भएको छ। गौरमा ३३४, गरुडामा ३०४.६, पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, परवानीपुरमा २२१.६, निजगढमा २६१.४, सिन्धुलीको हरिहरपुरगढीमा २९५, मकवानपुरगढीमा २१०, पनौतीको खोपासीमा २१५.२, गोदावरी ललितपुरमा १७८.८, लेलेमा १८४.२, काठमाडौंको नैकापमा १४१.६, सुन्दरीजलमा १४४.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, सर्लाहीको मनुस्मारामा २३३.६, मलंगवामा २२९, जनकपुरमा १८९.९, धनुषाको हर्दिनाथमा १८८.८, तुलशीमा २४५.२, कमला नदी केन्द्रमा १५६.८, चिसापानी बजारमा १६५ मिलिमिटर वर्षा भएको छ।
धनकुटाको मछुवाघाटमा १८१, त्रिवेणीमा १९९, सुनसरीको सप्तकोशीमा २२६.८, चरतामा २१४.४, इलामको माईमा १८२.८, इलामको टि इस्टेटमा २९०.६, हिमालीमा ३३५.४, कन्यामा २७९.६, झापाको बाहुनडाँगीमा २४६.४, चन्द्रगढीमा १८८.६, अनारमनीमा १७२.४, कन्काइमा १८६.८, दमकमा १७५.६, मोरङको हरैंचामा २४४.४, सप्तरीको बरमझियामा १८५.४ मिलिमिटर वर्षा भएको छ।
आजको मौसम पूर्वानुमान
आइतबार दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बादल लाग्ने अवस्था छ। बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ।
कोशी र मधेश प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन्।






