काठमाडौँ। हालै सार्वजनिक गरिएका जेफ्री एपस्टिनसम्बन्धी कागजातमा सन् २००२ मा लिंक्डइन सह–स्थापना गरेका रिड हफम्यानसँग एपस्टिनको निकट सम्बन्धका थुप्रै विवरण देखिएका छन्। ती कागजातमा हफम्यान र एपस्टिनबीच भएका मैत्रीपूर्ण इमेल आदान–प्रदान, भेटघाटका योजना र व्यक्तिगत संवाद उल्लेख छन्।

दस्तावेजअनुसार दुवैबीचको धेरैजसो संवाद एमआईटीको मिडिया ल्याबका लागि कोष संकलनसँग सम्बन्धित भए पनि त्यसमा व्यक्तिगत भेट, करसम्बन्धी सल्लाह, विभिन्न स्थानमा भेट्ने योजना र हफम्यानले एपस्टिनलाई पठाएका उपहारसम्बन्धी उल्लेखसमेत छन्। कागजातले सन् २०१४ मा हफम्यानले एपस्टिनको निजी टापु भ्रमण गरेको पुष्टि पनि गर्छ।

हफम्यानले यसअघि उक्त टापु भ्रमण गरेको स्वीकार गर्दै त्यो यात्रा पूर्ण रूपमा परोपकारी उद्देश्यका लागि भएको र एपस्टिनबारे पर्याप्त अनुसन्धान नगरेकोमा पछि पछुतो लागेको बताएका थिए। यद्यपि इमेलहरूमा एपस्टिनको न्यू मेक्सिकोस्थित जोरो र्‍याञ्च र न्यूयोर्कको म्यानहटन अपार्टमेन्टमा समेत थप भ्रमण गर्ने योजना देखिन्छ, ती यात्रा वास्तवमै भएका वा नभएको भने स्पष्ट छैन।

हालै हफम्यानले सन् २०१६ मा पालो आल्टो र क्याम्ब्रिजमा एपस्टिनसँग भेट भएको पुष्टि गरेका छन्। कागजातमा एपस्टिनले हफम्यानलाई “धेरै नजिकको साथी” भन्दै आफू उनलाई देख्न र कुराकानी गर्न मिस गर्ने उल्लेख गरेका छन्। साथै सन् २०१४ का इमेलहरूमा एपस्टिनले हफम्यानलाई भारतमा लगानीका अवसरसँग जोड्ने प्रयास गरेको विवरण पनि समावेश छ।