काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दबाडीसँग भेट गरेका छन्।
रसुवामा आएको आकस्मिक बाढीका कारण विद्यालय भवन बग्नुअघि प्रधानाध्यापक दबाडीले देखाएको समयसूचक तत्परताका कारण सयौँ बालबालिकाको ज्यान जोगिएको भन्दै राजदूत श्रीवास्तवले उनीसँग भेट गरेका हुन्।
सन् १९५० को दशकमा स्थापना भएको उक्त विद्यालय त्रिशूली जलविद्युत् आयोजनाको निर्माणमा संलग्न भारतीय इन्जिनियरहरूले डिजाइन गरेका थिए। भारत सरकारको सहयोगमा निर्मित विद्यालयको नयाँ भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत २ करोड ३९ लाख नेपाली रुपैयाँ अनुदानमा निर्माण गरिएको थियो।
नयाँ भवन सन् २०२२ अगस्टमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो। बाढीबाट विद्यालयमा पुगेको क्षतिपछि यसको पुनःनिर्माणमा भविष्यमा समेत सहयोग गर्ने प्रतिबद्धता भारतीय राजदूत श्रीवास्तवले व्यक्त गरेका छन्।
यसअघि सन् २०२३ मा भारतीय दूतावासले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई एउटा बससमेत उपहार दिएको थियो।
विद्यालयको इतिहास र भारतको सहयोगसँगै पछिल्लो बाढीमा प्रधानाध्यापक दबाडीले देखाएको तत्परता पनि अहिले चर्चामा आएको छ। संकटको क्षणमा गरिएको उनको समयमै निर्णयले ठूलो मानवीय क्षति हुनबाट जोगाएको थियो।






