काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले बाढी प्रभावित क्षेत्रको जल तथा मौसमसम्बन्धी तथ्याङ्क नेपाललाई दैनिक रूपमा उपलब्ध गराइरहेको जनाएको छ। नेपाललाई आवश्यक सूचना नदिएको भन्ने आरोप तथ्यहीन रहेको दूतावासले स्पष्ट पारेको हो।
दूतावासका प्रवक्ताले मंगलबार विज्ञप्ति जारी गर्दै गत अगस्ट २६ मा केरुङ–रसुवागढी नाका क्षेत्रमा आएको भीषण पहिरोका कारण त्यहाँका मनिटरिङ स्टेसनमा क्षति पुगेको बताएका छन्। पहिरोका कारण यातायात अवरुद्ध हुनुका साथै सिग्नलमा समेत अस्थिरता आएको विज्ञप्तिमा उल्लेख छ।
यस्तो प्रतिकूल अवस्थाबीच पनि चीनले तथ्याङ्क प्रसारणका च्यानल पुनःस्थापना गर्न निरन्तर प्रयास गरेको दूतावासले जनाएको छ। प्रभावित क्षेत्रको मुख्य जल तथा मौसमसम्बन्धी तथ्याङ्क नेपालको जल तथा मौसम विज्ञान विभागलाई दैनिक रूपमा उपलब्ध गराउँदै आएको उसको दाबी छ।
त्यस्तै, अन्य सम्बन्धित नेपाली अधिकारीहरूसँग पनि आवश्यक सूचना समयमै साझा भइरहेको दूतावासले जनाएको छ।
चीनमाथि लगाइएको ‘पारदर्शिताको अभाव’ सम्बन्धी आरोप तथ्यसँग मेल नखाने भन्दै दूतावासले यस्ता आरोपले नेपाल–चीनबीचको विपद् व्यवस्थापन तथा राहत सहकार्यलाई खल्बल्याउन सक्ने टिप्पणी गरेको छ।
चीनले मानवीय सहयोगलाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नेपालको विपद् प्रतिकार्यसम्बन्धी निर्णय प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
दुवै देशका नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्दै आएको र आगामी दिनमा पनि नेपाललाई विपद्बाट पार पाउन तथा पुनर्निर्माणमा सहयोग जारी राख्ने चीनले स्पष्ट पारेको छ।








