काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन्।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका हुन्। उनले अपराधको समाचार सम्प्रेषण गर्दा पीडितमाथि अर्को अपराध नहोस् भन्नेतर्फ संवेदनशील हुनुपर्ने बताएका छन्।
यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील तथा गम्भीर गैरकानुनी विषय भएको उनको भनाइ छ। विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उनले समाचार तथा अन्य सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताएका छन्।
मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगर्न आग्रह गरेका छन्।
त्यस्ता सामग्री यसअघि नै प्रकाशित वा प्रसारित भइसकेको भए तत्काल हटाउनसमेत उनले आग्रह गरेका छन्।






