काठमाडौँ । विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले सो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।

दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेसन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए ।