बागमती, हेटौँडा–काठमाडौँलाई जोड्ने कान्तिलोकपथ र हेटौँडा–भैँसे–काठमाडौँ सडकखण्डमा आजदेखि तीन दिन रातिको समयमा सवारीसाधन सञ्चालन रोकिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गरेको सूचनामा असोज १७ गतेदेखि २० गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको उल्लेख छ। सूचनाअनुसार, कान्तिलोकपथमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म, र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन चल्न नपाउने व्यवस्था मिलाइएको छ।
जल तथा मौसम विभागले असोज १७ देखि २० गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षाले पहिरो र अन्य जोखिम निम्त्याउन सक्ने भन्दै रोक लगाइएको हो।
प्रजिअ श्रेष्ठले अत्यावश्यक कामबाहेक लामो वा रात्री यात्रा नगर्न आग्रह गर्दै पहिरो जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउन स्थानीय तह र नागरिकलाई आग्रह गरेका छन्।
त्यसैगरी, विपद् पूर्वतयारी र प्रतिकार्यमा जिल्लाका सबै साझेदार संस्था, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई नियमित समन्वयमा रहि काम गर्न निर्देशनसमेत दिइएको छ।








