काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका आशिष राना मगर र विजय माझी पुरुष के–वान क्यानु स्लालोमको सेमिफाइनलमा प्रवेश गरेका छन्। क्यानु स्लालोमका स्पर्धा सेप्टेम्बर २९ देखि अक्टोबर २ सम्म याहागिगावा क्यानु स्लालोम कोर्समा सञ्चालन हुने तालिका छ।
नेपाल प्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनका अध्यक्ष राजीव श्रेष्ठका अनुसार याहागिगावा क्यानु स्लालोम कोर्समा सम्पन्न हिट्स चरणमा आशिष र विजयले प्राविधिक कौशल र गति प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।
आशिष र विजय यसअघि एसियाली खेलकुदका लागि नेपालबाट क्यानु स्लालोममा सहभागी हुने खेलाडीका रूपमा छनोट भएका थिए।
प्राकृतिक नदी तथा जलस्रोतमा धनी नेपालका लागि क्यानुइङ र ह्वाइटवाटर स्पोर्ट्स सम्भावनायुक्त क्षेत्र मानिन्छ। एसियाली खेलकुदको ठूलो मञ्चमा नेपाली खेलाडीले सेमिफाइनलसम्मको यात्रा तय गर्नुले नेपाली खेलकुदमा उत्साह थपेको छ।







