काठमाडौँ। मार्वलस इङ्लिस बोर्डिङ स्कुलले यू–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ८०–४८ ले पराजित गर्दै उपाधि जितेको हो।
मार्वलसलाई जित दिलाउन सिनेप शाहीले सर्वाधिक २६ स्कोर गरे। उपाधिसँगै मार्वलसले २५ हजार रुपैयाँ तथा उपविजेता संस्कृतिले १५ हजार रुपैयाँ नगद पुरस्कार पाए।
मार्वलसले पहिलो तीन क्वाटरमा क्रमशः १९–६, १४–८ र २७–१२ को अग्रता बनाउँदै जितको आधार तयार गरेको थियो। चौथो क्वाटरमा संस्कृति २२–२० ले अघि रहे पनि समग्रमा जितका लागि पर्याप्त हुन सकेन।
यो वर्ष मार्वलसको लगातार चौथो उपाधि हो। यसअघि उसले तेजस्वी, ग्रिनफिल्ड र ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो। ती तीनै प्रतियोगितामा पनि मार्वलस अपराजित रहेको थियो।
प्रतियोगितामा मार्वलसका रोशन कुश्वाहा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)को सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो। असोज ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ४० टोली सहभागी थिए।
विजेता तथा उपविजेता टोलीलाई प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष थकिनकुमार गुरुङ, महासचिव आरबी कटुवाल, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का तथा नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले पुरस्कार प्रदान गरेका थिए।







