वीरगञ्ज, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट झण्डै रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब रु एक अर्ब ७५ करोडले बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्षको सोही अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए। यस वर्ष आयातमा वृद्धि भएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ।
गत वर्ष दुई महिनामा रु चार अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएकोमा, चालु आवको सोही अवधिमा रु ६ अर्ब १३ करोड ९२ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
विवरणअनुसार, यस वर्ष दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन्, जुन गत वर्षको सोही अवधिमा २९५ वटा थियो जसको मूल्य रु ५१ करोड ६२ लाख थियो।
त्यस्तै, दुई महिनामा रु दुई अर्ब ७९ करोड मूल्यका २० हजार ६२० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा संख्या र मूल्य दुवैमा वृद्धि भएको हो। साथै, रु ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा बस तथा ट्रक चेसिस पनि यस अवधिमा आयात भएको कार्यालयले जनाएको छ।






