काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा २८९ रन बनाउन सक्यो ।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शतक बनाएका छन् । उनले ९४ बलमा शतक प्रहार गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे।
एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो । उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध त्रिवि मैदानमा १०५ रनको पारी खेलेका थिए ।
आज दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखको स्थानमा विनोद भण्डारी र युवा खेलाडी अर्जुन कुमाललाई मौका दिइयो । तर डेब्यु खेलमा अर्जुन जम्न सकेनन् । ५ ओभर ५ बलमा ११ रन जोडेर अर्जुन क्याच आउट भए । पहिलो विकेटको नोक्सानीमा नेपालले २५ रन बनाएको थियो।
भीम सार्की डक आउट भए । २९ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले सुरूवात राम्रो गर्न सकेन ।पहिलो पावर प्लेमा नेपालले २ विकेटको नोक्सानीमा ४० रन बनायो ।
तेस्रो विकेटको लागि विनोद र कप्तान रोहित पौडेलले ६७ रनको साझेदारी गरे । ४८ बल खेल्दै ३ चौका सहित ३८ रन बनाएर रोहित क्याच आउट हुन पुगे ।
यसपछि उपकप्तान ऐरी मैदान छिरे । दीपेन्द्रको चौकासँगै २३ ओभरको समाप्तिमा नेपालले एक सय रन पूरा गर्यो । विनोदले ७२ बलको सामना गर्दै ६ चौकासहित अर्धशतक पूरा गरे ।
पाँचौ विकेटको लागि दीपेन्द्र र आरिफ शेखले ५५ रनको साझेदारी गरे । आरिफ ११ रनमा आउट भए। ३८ ओभर १ बलमा नेपालले २०० रन बनायो । दीपेन्द्र र गुल्सन झाले छैटौं विकेटको लागि १०२ रनको शतकीय साझेदारी गरे । ३८ बल खेलेका गुल्सनले चार चौका र दुई छक्कासहित ४४ रन बनाए ।









