काठमाडौं । चीनसँग जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीसँग सम्बन्धित कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ।

भोटेकोशी गाउँपालिका–२ को कोदारी र इर्कुसहित पाँच स्थानमा पहिरो हटाएपछि सडक सुचारु भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले स्थलगत अनुगमन गर्दै सडकको अवस्थाबारे जानकारी लिएको छ।

ADVERTISEMENT

अनुगमनका क्रममा टोलीले पहिरोबाट सर्वाधिक प्रभावित इर्कु क्षेत्रका स्थानीयसँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरण, सडकलाई दिगो बनाउन दीर्घकालीन प्राविधिक उपायहरूबारे सुझाव आदान–प्रदान गरेको थियो।

चाडपर्वको बेला बाटो अवरुद्ध हुँदा पहिरो हटाउने कार्यमा स्थानीयले अवरोध पुर्‍याएका थिए। त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरूसँग आफ्नै निवासमा छलफल गर्दै बाटो खोल्न आवश्यक सहयोग गर्न आग्रह गरेका थिए।

ADVERTISEMENT

सडक सञ्चालनमा आएसँगै तातोपानी नाकामा रोकिएका सयौं कन्टेनर आवतजावत गर्न थालेका छन्। ती कन्टेनरहरूमा दसैंका लागि सामान ल्याइएको छ।