काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड बुधबार साँझबाट पुनः सञ्चालनमा आएको हो ।

तातोपानी र मितेरी पुलको बीचमा पहिरो जाँदा दुई सय मिटर सडक अवरुद्ध भएको थियो । काठमाडौंबाट चीन जोड्ने नजिकको नाका केरुङ र तातोपानी हुन् । बाटो खुलेसँगै दशैंको लागि चीनबाट आयात हुने सामान ल्याउन सहज हुने भएको छ । गएको महिना केरुङको मितेरी पुल बगाएसँगै चीनसँग जोड्ने नाका अवरुद्ध भएको थियो ।

पहिरोको माथिल्लो भागमा बस्ती रहेको र पहिरोका कारण बस्तीसमेत जोखिममा रहेको हुँदा सडक खोल्न कठिनाइ भएको थियो । सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र उपकरणसहितको प्राविधिक टोलीले पहिरो पन्छाएको हो ।

सडक विभागका महानिर्देशक विजय जैसीले  सो स्थानमा नयाँ डिजाइन अनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भइरहेको जानकारी दिए ।

उनले भने, ‘पहाडी धरातल र लेदो बगिरहने गरेका कारण सो स्थानमा समय–समयमा समस्या आउने गरेको छ ।’ ग्याबिन पर्खाल लगायतका अन्य संरचना निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीको भनाइ छ । सो स्थानमा दिर्घकालीन रुपमा पहिरो नियन्त्रण गर्न विज्ञ टोलीले अध्ययनसमेत जारी राखेको सडक विभागले जनाएको छ ।

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र बिहीबार अपराह्नदेखि ठूला सवारीसाधन समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडांैका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए । उनले भने, ‘तत्कालको लागि अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ । दीर्घकालीन रुपमा सडक स्तरोन्नति गर्न चीन सरकारले समेत अध्ययन गरिरहेको छ ।’

पहिरो गएको क्षेत्रमा पानीको मुहान भएको र वर्षा हुँदा माटो थप भिजेर पहिरो जाने गरेको उनको भनाइ छ । पहिरोका कारण दुई सय मिटर बाटो अवरुद्ध भएको थियो । यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनको भनाइ छ ।

केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गइरहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिएका थिए । दिर्घकालिन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन थियो ।