काठमाडौं । चालु आर्थिक वर्ष २०८२\०८३ को दुई महिनामा नेपालमा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ ।
चालु आवको साउन र भदौ महिनामा ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा स्वचालित मार्गमार्फत १ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा रेगुलर रुटमार्फत ३१ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा उक्त लगानी बराबरका २ सय ३६ परियोजना दर्ता भएका छन् ।
उद्योग विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा आएको विदेशी प्रतिवद्धतामध्ये सबैभन्दा बढी कृषि क्षेत्रमा आएको देखिन्छ । साउन र भदौमा कृषि क्षेत्रका ९ परियोजनामार्फत २१ अर्ब ५९ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो । यो यस अवधिमा आएको कुल लगानी प्रतिवद्धताको ६५ प्रतिशत बढी हो ।
यता परियोजनाका आधारमा सबैभन्दा धेरै परियोजना भने संचार तथा सूचना प्रविधितर्फ १ सय २० परियोजना दर्ता भएका छन् । तर, यो क्षेत्रमा जम्मा ५६ करोड २७ लाख रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको देखिन्छ ।








