काठमाडौं । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी तथा उनीहरूका परिवार बोकेको रेललाई लक्षित गरी आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त विस्फोटपछि घटनास्थलमा ठूलो क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ । अहिले पनि उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।

ADVERTISEMENT

प्राप्त तस्बिरहरूमा रेलका डिब्बा पल्टिएको र पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा देखिएका छन् । स्थानीय बासिन्दा तथा उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी गरिरहेका छन् भने घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा सुरक्षा बलले कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

अधिकारीहरूका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको रेल चमन क्षेत्र नजिक पुगेका बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधन रेलको डिब्बासँग ठोक्किएपछि ठूलो विस्फोट भएको थियो । विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए भने नजिकका केही डिब्बा पूर्ण रूपमा ध्वस्त भएका थिए ।

अर्का एक अधिकारीले एएफपीसँगको कुराकानीमा रेलमा सवार सैनिकहरू आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेको बताएका छन् ।

बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रान्त भए पनि विकासका सूचकाङ्कमा सबैभन्दा पछाडि मानिन्छ ।

यस क्षेत्रमा सक्रिय बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय समुदायलाई लाभ नदिई प्राकृतिक ग्यास तथा खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन् । यही कारण लामो समयदेखि बलुचिस्तानमा सुरक्षा चुनौती र हिंसात्मक गतिविधि जारी रहेको छ ।