काठमाडौं । काठमाडौंका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई सरकारले अब होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएको छ।
भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र स्थान खाली गर्न उर्दी जारी गरेको हो।
बुधबार प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएका छन्।
प्रशासनका अनुसार होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारको पुर्ख्यौली थलोमा जग्गा रहेको पाइएको छ। बाँकी १२ परिवारको नाममा भने कतै पनि जग्गा नरहेको सूचनामा उल्लेख छ।
जग्गा भएका र नभएका दुवै समूहका परिवारलाई एउटै समयसीमा दिएर होल्डिङ सेन्टर खाली गर्न भनिएको छ। प्रशासनले भूमिहीन नठहरिने तथा जग्गा नदेखिएका सबै व्यक्तिलाई तोकिएको समयभित्र स्थान खाली गर्न सूचित गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा गत वैशाख १२ गतेदेखि काठमाडौंका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु गरिएको थियो। त्यसक्रममा बस्तीमा डोजर चलाएर विस्थापित गरिएका परिवारलाई विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको थियो।
सरकारले विस्थापित परिवारलाई तीन महिनाभित्र वैकल्पिक बसोबासको व्यवस्था गर्ने बताएको थियो। तर, बस्तीबाट हटाइएको लामो समय बितिसक्दा पनि उनीहरूको स्थायी बसोबासको व्यवस्था हुन सकेको छैन।
पुनःस्थापनाको प्रतीक्षामा रहेका परिवारलाई अहिले भने होल्डिङ सेन्टरसमेत खाली गर्न भनिएको छ। वैकल्पिक आवासको व्यवस्था नहुँदै आश्रयस्थल छाड्नुपर्ने भएपछि ती परिवार कहाँ जाने भन्ने प्रश्न उठेको छ।













