काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्ण रूपमा सत्ता केन्द्रित भएको र जनअपेक्षाअनुसार काम गर्न नसक्दा भदौ २३ र २४ गतेका घटना भएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पछिल्लो एक दशकमा मुलुकको सामाजिक, आर्थिक र जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनअनुसार काम गर्न नसकिएको धारणा राखेका हुन् ।
उनले जनसाङ्ख्यिक परिवर्तन, बसोबासको स्वरूप, अर्थतन्त्रमा आएको बदलाव र विश्वमा नयाँ सञ्चारमाध्यमको विकासलाई समयमै सम्बोधन गर्न नसक्दा राज्यले दिनुपर्ने सेवा र नतिजामा कमजोरी भएको बताए ।
थापाले भदौ २३ र २४ गतेका घटनालाई सामान्य रूपमा लिन नहुने पनि बताए । उनका अनुसार कांग्रेसले महाधिवेशनबाट भदौ २३ गते भएको दमन र २४ गते भएको घटनालाई आपराधिक घटनाका रूपमा व्याख्या गरेको छ ।
‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ । भदौ २३ र २४ गते भएका घटनालाई अन्डरमाइन्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ,’ उनले भने ।
राष्ट्रिय पार्टी भएकाले कांग्रेसले यस्ता घटनालाई केवल राजनीतिक अङ्कगणितका आधारमा मात्र बुझ्न नहुने थापाको भनाइ थियो । घटनाको वास्तविक कारण पहिचान गरी त्यसको समाधानका लागि स्पष्ट रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।












